फाइल तस्बिर।
सत्तारूढ गठबन्धनभित्र बढ्दो असन्तोषका बीच प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच महत्त्वपूर्ण छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (मंगलबार) दुई नेताबीच भएको भेटमा सरकारको कामकारबाही तथा सत्तागठबन्धनको अवस्थाबारे छलफल भएको बताइएको छ ।
पछिल्लो समय सत्तासाझेदार दल कांग्रेसका नेताहरूले सरकारको आलोचना गर्दै आइरहेको समयमा प्रधानमन्त्री ओलीले वास्तविकता के हो भन्नेबारेमा कांग्रेसको धारण बुझ्न पनि देउवालाई भेटेका हुन् । गठबन्धनभित्र गडबड भइरहेको सन्दर्भमा प्रधानमन्त्री ओली र सभापति देउवाबीचको भेटलाई विशेष अर्थमा हेरिएको छ ।
प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले दुई नेताबीच सरकारको कामलाई अझ प्रभावकारी बनाउनेबारे गम्भीर छलफल भएको बताए ।
यता, सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुई नेताबीचको भेटलाई नियमित संवादको निरन्तरता भएको बताएका छन् । उनका अनुसार देउवा र ओलीबीच करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।
गठबन्धनभित्र देखिएको असमझदारी र कांग्रेस नेताहरूको आलोचनालाई सम्बोधन गर्न दुई शीर्ष नेताबीच भएको यो छलफलपछि सत्तागठबन्धन संयन्त्रको बैठक चाँडै बोलाइने सम्भावना देखिएको छ ।
गठबन्धनभित्रको तालमेल, सरकारको कामकाजप्रतिको सन्तुष्टि र आगामी रणनीतिका विषयमा स्पष्ट दिशा तय गर्न अबको संयन्त्र बैठक निर्णायक बन्न सक्ने आकलन गरिएको छ । संयन्त्रको बैठक भाेलि (बुधबार) बस्ने तयारी भएको छ ।