
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट- बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् ।
पूर्वीखण्डको गैँडाकोट- दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् ।
नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् ।
निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेको उनले बताए । निर्माण सकिएका दुई ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन् । उक्त खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा पाँचवटा निर्माण सम्पन्न भएका छन् ।
निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए ।
आगामी असारसम्म थप तीन ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए । गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन् ।
अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ ।
रायणघाटबाट बुटवलसम्मको एक सय १४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल(करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ ।
चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ ।