काठमाडौं, वैशाख ३ :

त्रिभुवन विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।

वैदेशिक रोजगारीबाट बिदामा फर्किएका मोरङका सञ्जय ओझामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कारबाही गरेको हो ।

तीनै प्रहरीलाई कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता शेखर खनालले जानकारी दिए ।

दुबईबाट गत चैत ३१ गते त्रिभुवन विमानस्थल ओर्लिएका ओझा अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि प्रहरीको दुर्व्यवहारमा परेका थिए । ओझामाथि प्रहरीले गरेको दुर्व्यवहारको भिडियोले सामाजिक सञ्जालमा व्याप्त चर्चा पाएको थियो ।