.jpg)
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताएका छन् ।
वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम रहेको बताए ।
पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे । ‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ,’ निजी क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गर्दै उनले भने ।
राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिला जनशक्तिलाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको तथ्याङ्क प्रस्तुत गर्दै महिलालाई आर्थिक रुपमा सशक्त गराउनुपर्नेमा जोड दिइन् ।
नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भन्दै डिजिटल माध्यमले महिलालाई काम गर्न सहज भएको बताए ।