काठमाडौं, वैशाख ८ :

‘युरोपेली देशका लागि काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र र यो संयन्त्रबाट भएका काम सिकाइ बन्यो । स्थानीय तहबाट यसको सञ्चालन प्रक्रिया उहाँहरुका लागि नौलो र अनुकरणीय अभ्यास रह्यो,’ बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा उपमेयर सुनीता डंगोलले सुनाइन् ।

काठमाडौं महानगरपालिकामा भएका अभ्यासलाई आफूले प्रस्तुतीकरण गर्दा आएको प्रतिक्रियाबाट निकै खुसी भएको डंगोलको प्रतिक्रिया छ । ‘युरोपियन युनियनको वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन- एडीआर) को अभ्यास अवलोकनपछि मैले काठमाडौं महानगरपालिकाको न्यायिक समिति, मेलमिलापका लागि सञ्चालन गरेका वडास्तरीय मेलमिलाप केन्द्र, वडा महिला सञ्जालको गठन, निःशुल्क कानुनी सेवा, विपन्नका लागि अदालतमा निःशुल्क कानुनी सहयोगका विषयमा प्रस्तुतिकरण गरेँ । प्रस्तुतिपछि उहाँहरुबाट महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएँ । यो प्रतिक्रियाले खुसीसँगै थप जिम्मेवारी बढेको महसुस गरेँ,’ महानगरपालिकाकी उपमेयर डंगोलले अनुभव सुनाइन् ।

युरोपियन युनियनको निमन्त्रणा चैत २३ गते बेल्जियम गएकी डंगोलले ‘सहरी विकास योजना’, ‘न्यायिक प्रणाली’ र ‘सांस्कृतिक सम्पदा’ सम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरिन् । यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान-प्रदान गरिएको थियो । भ्रमणका लागि विभिन्न देशका सातजना आमन्त्रित थिए । तर, उपप्रमुखले पठाएको स्टेटमेन्ट अफ प्रपोजका आधारमा व्यक्तिगत रुपमा भेट, बैठक र छलफल भएको थियो । यसक्रममा उनले युनियनका दक्षिण एसियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरुसँग व्यक्तिगत रुपमा भेटघाट र छलफल गरिन् । यसमा सहरको विकास र व्यवस्थापनसँगै अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा कुराकानी भएको थियो ।

विवादको संवेदनशीलताका आधारमा सुनुवाइ कक्ष
‘लक्जेम्बर्गको न्यायिक प्रक्रियामा विवादको प्रकृतिका आधारमा छुट्टाछुट्टै सुनुवाइ कक्षको प्रयोग हुने गरेको छ । त्यहाँ ११ वटा सुनुवाइ कक्ष छन् । अति जरुरीका विवाद पहिलो नम्बरको कक्षमा पठाइन्छ । त्यहाँ धेरै न्यायाधीश हुन्छन् । यसैगरी विवादको संवेदनशीलताका आधारमा क्रमशः अरु कक्षहरुमा विवाद पठाउने गरिएको छ,’ डंगोलले भनिन्, ‘अवलोकनका क्रममा विवाद दर्तादेखि निर्णय गर्दा सम्मको प्रक्रियाको अवलोकन भयो ।’

विश्वविद्यालयका विद्यार्थीहरुलाई काठमाडौंको न्यायिक प्रणालीको जानकारी प्रदान
अवलोकनका क्रममा युनियनको न्यायिक प्रणाली अध्ययन गर्न आएका इटलीको बोकोनी विश्वविद्यालयमा कानुन विषयका विद्यार्थीहरुलाई उपप्रमुख डंगोलले, काठमाडौंको विवाद निरुपण र मेलमिलाप अभ्यासका विषयमा जानकारी गराएकी थिइन् । काठमाडौंको अभ्यास सुनेपछि विश्वविद्यालयका विद्यार्थीहरुले काठमाडौंको अभ्यास अध्ययन गर्न आउने इच्छा देखाएका छन् ।

ब्रसेल्सका उपप्रमुखसँग भेट
सिटी अफ ब्रसेल्सले नगरलाई टेन मिनेट्स सिटी र आईटी सिटीका रुपमा विकास गरेको छ । त्यहाँका उपप्रमुखसँगको भेटको प्रसंगमा उपप्रमुख डंगोलले, जुनसुकै सेवा पनि १० मिनेटभित्र प्रदान गर्ने र रियल टाइम डाटाबाट क्लोज टु पर्फेक्टका लागि काम गरिरहेको जानकारी दिइन् ।

पैदलयात्री र साइकलयात्रीलाई प्राथमिकता
‘सहरी विकास योजनाको अवलोकनका क्रममा पैदलयात्री र साइकलयात्रीलाई मुख्य प्राथमिकता दिएको पाएँ,’ उनले अनुभव सुनाउँदै भनिन्, ‘साइकलमा चढेर ट्रयाकको अवलोकन भएको थियो । यस क्रममा सहरी योजनामा साइकल र यसको पूर्वाधारका पक्षमा काठमाडौंले सिक्न सक्ने काम योजनाका रुपका लिएर आएकी छु ।’

पूर्वाधार योजनामा उमेर समूह
बाल उद्यान निर्माण गर्दा छेउमा युवाहरुलाई उपयोगी हुने स्थान बनाइदिनुपर्ने युरोपेली देशको अभ्यास छ । ‘टिन एजर युवाका लागि छुट्टै ठाउँ बनाइएन भने उनीहरुको उपस्थितिले बालमैत्री आचरण निर्माण हुन नसक्ने तथ्यलाई पूर्वाधार निर्माणमा ख्याल गर्नु पर्ने महसुस भयो,’ उनले भनिन्, ‘यो अभ्यासलाई काठमाडौंमा पनि कार्यान्वयन प्रयास गर्नेछौँ ।’

सांस्कृतिक सम्पदा प्रवर्धन
रचनात्मक सहर सञ्जालका विषयमा उपप्रमुखले युनेस्कोका प्रतिनिधिहरुसँग छलफल भएको थियो । यस क्रममा काठमाडौं महानगरपालिकाभित्र भएका अभौतिक सांस्कृतिक सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काठमाडौंसँगको सम्भावनाको विषय मुख्य थियो । यस्तै चलचित्र विधाबाट काठमाडौं रचनात्मक सहर सञ्जालमा जोडिएको र यसका क्रियाकलाप सञ्चालनका लागि छुट्टै नीतिगत व्यवस्था गर्न लागिएको विषयलाई उनले जोड दिएकी थिइन् ।

चोरी भएका मूर्ति फिर्ता गराउने कामको थालनी
नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुखले वेल्जियमस्थित नेपाली दूतावाससँग छलफल गरिन् । इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२औँ शताब्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस/पर्शुरामको मूर्ति र राष्ट्रिय संग्रहालयबाट हराएको ११औँ शताब्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भयो ।

नेपाल फर्किएपछि उनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई दूतावाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुंगोमा पुर्‍याउन निर्देशनसमेत दिइन् ।

भाषिक विविधताको महत्त्व
युरोपियन युनियनमा २४ वटा भाषा प्रचलित छन् । जसले जुन भाषा बोले पनि सबै भाषामा अनुवाद गरिन्छ । युनियनमा आबद्ध जनशक्तिको धेरै हिस्सा अनुवाद जिम्मेवारीमा रहेका छन् । उपप्रमुखले अवस्था सुनाउँदै जसलाई जुन भाषामा सेवा लिन पाउने सुविधा छ । यसलाई अनुवाद गरेर सेवा दिने गरिएको पनि डंगोलले जानकारी दिइन् ।