काठमाडौं, वैशाख ८ :

यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्विटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शनअगावै दर्शकमाझ सनसनी मच्चाएको छ ।

छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक-इन्स्टा रिल्स र युट्युब सर्ट्समा यो गीत यति भाइरल बनेको छ कि हरेक स्वाइपमा यसकै धुन गुञ्जिरहेको महसुस हुन्छ ।

झुमा लिम्बू र सुजन चापागाईंको सशक्त स्वर, झुमाकै संगीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ । गीत सार्वजनिक भएको केही समयमै यसको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बू र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले विशेष चर्चा बटुल्न सफल भएको थियो । यो गीत नेपाली चलचित्र उद्योगमा ट्रेन्डमा रहेकाहरु गीतमध्ये एक बनिसकेको छ ।

यसैबीच ‘ऊनको स्विटर’को निर्माण कम्पनी आर्टमान्डुले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात् गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । ट्रेन्डकै रुपमा पहिलोपटक चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक-इन्स्टा रिल्स र युट्युब सर्ट्समार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बू र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र इक्सा लिम्बूको भूमिका निर्वाह गरेका छन् । यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।

आर्टमान्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, ‘हामीले यो झलकमार्फत ऊनको स्विटरका पात्रहरूप्रति तपाईंहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौं । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईंहरूको साथको अपेक्षा गरेका छौँ ।’

कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्विटर’ का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको बताए । उनले भने, ‘पात्र परिचयका रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरूमा छोटो समयमा नै दशौं लाख दर्शकले हेरिसक्नुभएको छ र यसलाई अत्यधिक मन पराउनुभएको छ । हाम्रो नयाँ प्रयासलाई सहजै स्विकार गरिएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो ।’

‘ऊनको स्विटर’ प्रदर्शनको पूर्वसन्ध्यामा ‘काफ्ले’ गीतले यस चलचित्रप्रति दर्शकको उत्साहलाई अझै बढाएको छ ।