काठमाडौं, वैशाख ८ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो,’ उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।’ विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरुले काठमाडौंको सडकमा आन्दोलन गरिरहँदा शिक्षामन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।

शिक्षक महासंघसँग पटक-पटक वार्ता हुँदा पनि ऐन जारी गर्नै पर्ने अडान नछाडेपछि भट्टराई राजीनामा गर्न बाध्य भएको बुझिएको छ ।  शिक्षकहरुको आन्दोलन २० दिनदेखि जारी छ ।उनीहरुको आन्दोलनले गर्दा सर्वसाधारणले दैनिक जसो सास्ती खेप्नु परेको छ । शिक्षकहरुको आन्दोलन अहिले जात्रा जस्तो भएको छ । समयमा आउने नाचगान गर्ने अनि फर्कने काम भएको छ ।