
फाइल तस्बिर।
सडक आन्दोलनमा रहेका शिक्षकहरूले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरु सहभागी नभए पनि कर्मचारी खटाएर वा अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।
बोर्डले परीक्षा नरोकिने निर्णय गरेलगत्तै आन्दोलनरत शिक्षकहरुले सडकमै रहने र परीक्षामा सामेल नहुने घोषणा गरेका हुन् । कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुँदै छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘सरकारले जसरी परीक्षा सञ्चालन गरोस् तर, शिक्षक/प्रधानाध्यापक भने परीक्षामा सामेल हुँदैनन् ।’
शिक्षा विधेयक जारी गर्नुपर्नेलगायत मागसहित उनीहरु २१ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । सरकारले संसद्को बजेट अधिवेशनबाटै शिक्षा विधेयक जारी गर्ने बताए पनि शिक्षकहरूले मानिरहेका छैनन् ।
प्रधानमन्त्रीको दबाब र शिक्षकहरूको अटेरीपनका कारण शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिइसकेकी छन् । उनले शिक्षकहरुका मागलाई सम्बोधन गर्न सातबुँदे प्रस्तावसमेत तयार पारेकी थिइन् । त्यसमा प्रधानमन्त्रीको असहमति रहेको बुझिएको छ ।