काठमाडौं, वैशाख १० :

संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदामा असहमति जनाएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ती असहमति सार्वजनिक गरेका हुन्।

पाण्डेले पहिलो असहमति 'कुलिङ पिरियड' सम्बन्धमा जनाएका छन्। समितिले तयार पारेको प्रतिवेदनमा हाल कुलिङ पिरियड एक वर्ष तोकिएको छ। तर, पाण्डेले यो अवधि कम्तीमा दुई वर्ष हुनुपर्ने तर्क गरे।

दोस्रो असहमति अतिरिक्त सचिवको पद सिर्जना गर्ने प्रस्तावप्रति हो। सचिव र सहसचिवको संख्या यथावत राखेर अतिरिक्त सचिव थप्ने प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाए। ‘अतिरिक्त सचिवको कुनै आवश्यकता छैन,’ उनले भने, ‘सचिव र सहसचिवको संख्या घटाउने सन्दर्भमा मात्र छलफल गर्न सकिन्छ।’

तेस्रो बुँदामा उनले भेटेरेनरी (पशु सेवा) क्षेत्रमा ८ औं तह कायम गर्नुपर्ने माग राखे। हालसम्म भेटेरेनरीलाई उपेक्षा गरिएको भन्दै उनले यो तह आवश्यक रहेको स्पष्ट पारे।