
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ टावरको नक्सापास प्रक्रियामा गम्भीर अनियमितता र नीतिगत भ्रष्टाचार भएको आशंका व्यक्त गर्दै ठुला आर्थिक हानि हुने तथ्य सार्वजनिक गरेका छन् । टावरको हालैको १२ तल्लाबाट १९ तल्ला बनाउने प्रयासप्रति आपत्ति जनाउँदै, मेयर शाहले ‘एक अर्बभन्दा धेरै घाटा महानगरलाई कसरी हुनसक्छ ?’ भनी प्रश्न समेत उठाएका छन् ।
२०७३ मा सम्झौताअनुसार १२ तल्लासम्मको टावर निर्माणका लागि महानगरले वार्षिक रुपमा चौथो वर्षसम्म ९८ लाखदेखि ३०औं वर्षसम्म ३ करोड ९० लाखसम्म आम्दानी गर्ने बताइएको थियो । तर, अहिले ७ तल्ला थप गरेर भाडामा आउने सम्भावित आम्दानीलाई नजरअन्दाज गर्दै पुरानै दरमा नक्सापास गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
बालेनका अनुसार, ७ तल्ला थप्दा करिब १ लाख २८ हजार वर्गफुट क्षेत्रफल थपिन्छ र प्रतिवर्गफुट १५० रुपैयाँको दरले पनि वार्षिक २३ करोडभन्दा बढी भाडा उठ्न सक्थ्यो । आगामी ३० वर्षमा यो भाडा १ अर्बभन्दा धेरै हुने प्रक्षेपण गरिएको छ ।
तर, बिना प्रक्रिया र वैधानिकता नक्सापास गरिएको भन्दै बालेनले ‘सरकारी प्रणाली छलेर, प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी नदिई, दोस्रो दिनमै नक्सा पास गर्नुपर्ने के कारण थियो ?’ भनी प्रश्न उठाएका छन् ।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि विशेष आरोप लगाइएको छ। बालेनको भनाइ अनुसार, गुरागाईको आगमनको दोस्रो दिनमै नक्सा पास गरिएको थियो, जुन न त विभागीय प्रमुखलाई जानकारी थियो, न त आधिकारिक प्रणाली प्रयोग गरिएको। बालेनले यसलाई पूर्वनियोजित योजनाअनुसार गरिएको कार्य भनेका छन् ।
अघिल्ला प्रमुख प्रशासकीय अधिकृतलाई समयअघि हटाइए पनि गुरागाईलाई सरकारको विशेष आदेशमा राखिएको जस्तो देखिएको भन्दै उनले प्रश्न उठाएका छन् ‘के उहाँलाई विशेष म्यान्डेट दिएर पठाइएको हो?’
उपमेयर सुनीता डंगोलले वडाध्यक्ष र कर्मचारीहरुको सहयोगमा गुरागाईंलाई कार्यकक्षमा ढोका फोडेरै प्रवेश गराएकी थिइन् । काठमाडौँ टावर मात्र होइन, सोही दिन नक्सापास गरिएको हिल्टन होटेलसमेत अनुसन्धानको दायरामा रहेको बालेनले खुलासा गरेका छन् । यदि कसैले महानगरमा यस्ता अनियमितता देखे जानकारी गराउन मेयर शाहले सर्वसाधारणलाई आह्वान गरेका छन् ।