काठमाडौं, वैशाख १३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र जनताको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्ने प्रमुख जिम्मेवारी माओवादी केन्द्रको भएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारीको शपथ तथा पद हस्तान्तरण कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धिको रक्षा तथा यो शासन व्यवस्थालाई सुदृढ गर्न माओवादी केन्द्र सधैँ लागिरहने बताए ।

आफ्नो पार्टी जनतासँगको सम्बन्धलाई सुदृढ गर्ने प्रयासमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले हुलाकी राजमार्ग केन्द्रित अभियानपश्चात मध्यपहाडी लोकमार्ग र उपत्यकासहित सहरी क्षेत्रमा पनि अभियान सञ्चालन गरिने बताए ।

पृथक प्रसंगमा अध्यक्ष दाहालले चिकित्सक एवं शिक्षकका जायज माग वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विचार र नेतृत्वका कारण जनताले माओवादीलाई रुचाएका बताए । पत्रकार राष्ट्रका पहरेदार भएकाले सत्यतथ्यमा आधारित समाचारका माध्यमबाट जनतालाई सुसूचित गर्नुपर्नेमा उनको जोड छ ।