
फाइल तस्बिर।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालद्वारा जारी विज्ञप्तिअनुसार संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख भट्टले ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ र ‘जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।
यी विधेयकहरू प्रदेशसभाबाट पारित भई प्रमाणीकरणका लागि पेस गरिएको थियो। सार्वजनिक सडकको विकास तथा मर्मतलाई कानुनी रूप दिन र विषादीको प्रयोग तथा व्यवस्थापनलाई सुरक्षित बनाउने उद्देश्यले यी विधेयकहरू तयार पारिएको बताइएको छ।
विधेयक प्रमाणीकरणसँगै अब यी कानूनका प्रावधानहरू कार्यान्वयनमा आउने छन्।