काठमाडौं, वैशाख १६ :

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन् ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरु र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिहरुसँग कुरा गर्दै सोमबारयताका पटक-पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल र शिक्षक नेता सहमतिनजिक पुगेका उनको दाबी छ ।

‘आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँग गम्भीर रुपले वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ महरले भने ।

कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले आज (मंगलबार) शिक्षक नेताहरूसँगको भेटमा राजनीतिक दल माग सम्बोधनमा सकारात्मक रहेकाले आजभोलिमै परिणाम निस्कने बताए ।

तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आजभोलि नै मन्त्रिपरिषद्‌बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले बताए ।

‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ । नेपाल शिक्षक महासंघका प्राय एजेन्डा मन्त्रिपरिषद्‍बाट सम्बोधन हुने र शिक्षा ऐन यथाशक्य छिटो पारित गर्ने प्रतिबद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे ।

शिक्षकको सम्मान हुने गरी शिक्षाभित्रका थुप्रै समस्या भोलिसम्म सम्बोधन हुने महरको दाबी छ । यसले शिक्षाभित्रको गतिरोध हटेर जाने विश्वाससमेत व्यक्त गरेका छन् । गुणस्तरीय शिक्षा प्राप्तिका लागि शिक्षक, विद्यार्थी,अभिभावक/सरकार सबैले आ-आफ्नो कर्तव्य पालना गर्नु पर्ने महरको भनाइ छ ।

यस्तै, सोमबार राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए । यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।