ललितपुर, वैशाख १६ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका विभिन्न विभागहरू सक्रिय हुँदा पार्टीमा ऊर्जा थपिएको बताएका छन् ।

कांग्रेस पार्टीको विपन्न उत्थान समन्वय विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न गराउन नीतिगत तथा कार्यक्रम सुझाव सहितको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विभागहरूको सक्रियताले पार्टीलाई गतिशील, सशक्त र प्रभावकारी बनाएको बताए ।

‘प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण छ, निकै मेहनत गर्नुभएको छ, पार्टीको सबै तहका संरचना र निर्वाचित जनप्रतिनिधिलाई काम लाग्ने सुझावहरू छन्, यसलाई पार्टीले महत्त्वपूर्ण दस्तावेजका रूपमा स्वीकार गरेको छ, महत्त्वपूर्ण सुझाव छन्,’उनले भने, ‘भोलिका दिनमा ती सुझाव हेर्नेछौँ । केही सुझाव हेर्दा खर्चिलो पनि छन् ।’

उनले नेपालको अर्थतन्त्रले भ्याएसम्म विभागले दिएको सुझाव कार्यान्वयन गर्न लाग्ने प्रतिबद्धता जनाए। ‘विभागले दिएका अधिकांश सुझाव कार्यान्वयनमा लैजान सक्ने खालका छन्,’उनले भने, ‘पार्टीमा छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ, भावी योजना तयका लागि महत्त्वपूर्ण हुनेछ ।’

प्रतिवेदन विपन्न लक्षित नीतिगत सुधारका लागि महत्त्वपूर्ण भएको देउवाको भनाइ थियो ।