
अहिले काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । काठमाडौं उपत्यकामा बिहानपखदेखि झरी परिरहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
हल्का वर्षा भइरहेकाले पनि उपत्यकाको तापक्रम पनि घटेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन् । काठमाडौंबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।
मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोसी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ ।
महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।