काठमाडौं, वैशाख १८ :

काठमाडौं महानगरपालिकाले जेठ ७ गतेबाट टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ । सीप मेलाबारे जानकारी दिँदै मेयर बालेन्द्र शाह (बालेन) ले यस संस्करणमा दुई हजार ८२ जनालाई सहभागी गराउने लक्ष्य रहेको जनाए ।

विश्व मजदुर दिवस २०८२ का सन्दर्भमा सुरक्षित, व्यवस्थित र दिगो श्रम बजारका विषयमा कुरा गर्दै उनले, सीपयुक्त जनशक्ति भए मात्र सुरक्षित रोजगारी हुने, उत्पादन वृद्धिमा योगदान हुने र यस चक्रबाट देशको आर्थिक समृद्धिमा योगदान पुग्ने बताएका हुन् ।

१५ हजार जना युवालाई सीपमूलक तालिम प्रदान गरेर कम्तीमा ५ हजार जनालाई रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यसहित आर्थिक वर्ष ०८०/८१ देखि महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रम कार्यान्वयनमा आएको छ । सीप नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने मेला आयोजनाको लक्ष्य हो ।

मेलाको पहिलो संस्करण श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा सुरु भएको थियो । त्यस संस्करणमा तालिमका लागि ६८ हजार ८ सय ६६ जनाले आवेदन दिएका थिए । मेलाबाट विभिन्न विधामा २ हजार ८१ युवालाई सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य

त्यसमा लक्ष्यभन्दा धेरै २५ सय ७५ जनाले तालिम प्रदान गरिएको थियो । यसरी तालिम प्राप्त प्रशिक्षार्थी रोजगार क्षेत्रमा आबद्ध भएको, स्वरोजगार भएका छन् । रोजगार र स्वरोजगारमा आबद्ध नभएका र महानगरपालिकाको सम्पर्कमा रहेका जनशक्तिलाई उद्योग तथा कम्पनीहरुसँग सहकार्य गरेर महानगरपालिकाले अन द जब ट्रेनिङ गराइरहेको छ ।

एकातिर श्रम बजारमा सीपयुक्त जनशक्तिको माग र आपूर्ति बीच खाडल छ । अर्कोतर्फ युवाहरु देशमा रोजगारीको अवसर महसुस गर्न नसकेर वैदेशिक रोजगारीमा जाने गरेका छन् । यसरी क्रमशः पलायनको बाटोमा लागेको मानव पुँजीलाई बचाउन समेत मेला लाभदायी हुने अपेक्षा गरिएको छ । यसका लागि मेलाका अतिरिक्त नियमित तालिमहरु सञ्चालन भइरहेका छन् ।

आन्तरिक रुपमै रोजगारीका थुप्रै सम्भावना छन् भन्ने देखाउनु, सीप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा बसिरहेका जनशक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रुपान्तरण गराउनु मेलाको लक्ष्य हो । ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरुको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य हो ।

गएको वर्ष फाराम भरेर तालिम लिन नपाएका आवेदक, महानगरमा स्थायी वा अस्थायी रुपमा बसोबास गरिरहेका, स्यानिटरी ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति, विगतमा सडक व्यापार, ठेलामा व्यापार गरेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिएको छ । तालिममा सबै नेपाली नागरिकलाई सहभागी हुने अवसर प्रदान गरिनेछ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार धुनिबेंसी नगरपालिकाको वडा नम्बर १, ३ र ४ तथा ककनी गाउँपालिकाका वडा नम्बर १, २ र ३ लाई ल्यान्डफिल साइटका प्रत्यक्ष प्रभावित वडा हुन् ।

यस वर्ष १० वटा विधाका ३० वटा पेसासँग सम्बन्धित विषयमा तालिम हुनेछन् । यी विधा र विषय छनोट उद्योग, श्रम बजार र समाजको माग अध्ययनलाई आधार बनाइएको छ ।