भदौ १५ :

काभ्रे- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयले शिक्षाको क्षेत्रमा अनुकरणीय कार्य गर्दै आएको बताउनुभएको छ ।

आज काभ्रेको धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको २९ औँ दिक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले छोटो समयमा पनि राम्रो प्रतिफल दिएको बताउनुभयो ।

विश्वविद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै स्वेदशी तथा विदेशी गरेर  हजारौं विद्यार्थीहरु दिक्षित गराउन सफल भएको उहाँको भनाई थियो ।  

दिक्षान्त समारोहका प्रमुख अतिथि संस्कृतिविद डा.जगमान गुरुङले ज्ञान र शिक्षाको विशिष्ट अध्ययन र अभिलेखीकरणमा समर्पित अध्ययन, अनुसन्धान र प्रकाशन गृहको स्थापना विश्वविद्यालयले गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री तथा कुलपति केपी ओलीको अध्यक्षतामा भएको दोस्रो चरणको दिक्षान्त समारोहमा विभिन्न सङ्कायका २३ सय १४ जना विद्यार्थी दिक्षित भएका हुन् ।

समारोहमा पिएचडी, डिएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, र स्नातक तहका एक हजार ८१५ जना विद्यार्थी दीक्षित भएका छन् ।  दीक्षित हुनेमा स्कुल अफ आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिङका ३ सय ६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका एक हजार ५ सय ६३ जना र साइन्सका १ सय ४९ जना रहेका छन् । 

दीक्षित हुनेमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, सिङ्गापुर, अर्जेन्टिना, प्यालेस्टान, सुडानलगायतका १९ देशका २ सय ४२ विद्यार्थी रहेका छन् ।

समारोहमा यस पटक चान्सलर स्वर्णपदक मिजला चित्रकारलाई, भाइस चान्सलर स्वर्णपदक मुकेश तिवारीलाई, भाइसचान्सलर स्वर्णपदक (एमबिबिएस) तर्फ स्वीकार दाहाललाई, न्हुछेरत्न तुलाधर स्वर्णपदक रस्मिता पौडेललाई, रमेशप्रसाद सिंह स्वर्णपदक अर्जुन दासलाई र महेशनाथ पराजुली स्वर्णपदक रनिषा पौडेललाई प्रदान गरिएको छ ।