हेटौंडा, वैशाख २१ :

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १७, गैरीगाउँमा सडक भासिँदा हराएको गाडी अझै भेटिएको छैन ।

ना.४च ४८३३ नम्बरको गाडी शुक्रबार दिउँसो करिब १ बजेतिर कच्ची सडक भासिएर जमिनभित्रै हराएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार माछापालन गरिएको पोखरीनजिक रहेको कच्ची सडक भासिँदा गाडी हराएको हो ।

गाडीका चालक हरि राई र सहचालकले समयमै गाडीबाट उत्रेर ज्यान जोगाएका छन् । उनीहरू बाहिरिनासाथ करिब ५ सेकेन्डमै गाडी हिलोसहितको खाल्डोमा पुरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार उक्त क्षेत्रमा बोरिङका लागि खाल्डो खनिएको थियो । पानी ननिस्केपछि त्यही खाल्डो खुलै छाडिएको र त्यसवरपरको जमिन कमजोर भएर सडक भासिएको हुनसक्ने स्थानीय बासिन्दाले जनाएका छन् ।

घटनास्थलमा अहिले प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा, जनप्रतिनिधिलगायतको टोलीले खोजी गरिरहेको छ ।