
फाइल फोटो ।
नेकपा (माओवादी केन्द्र) ले आगामी जेठ २ गतेदेखि ‘जनतासँग माओवादी : मध्य पहाडी लोकमार्ग अभियान’ सुरु गर्ने निर्णय गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुमलटारस्थित निवासमा आज बसेको पदाधिकारी बैठकले नयाँ अभियानमार्फत पहाडी भेगका जनतामाझ पार्टीको सन्देश पुर्याउने र जनसंघर्षलाई थप सशक्त बनाउने निर्णय गरेको हो।
बैठकले हालै सम्पन्न ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’को समीक्षा गर्दै नयाँ अभियानको घोषणा गरेको हो।
साथै बैठकले तराई–मधेस केन्द्रित जागरण अभियानले राष्ट्रिय एकता मजबुत बनाउन सकारात्मक भूमिका खेलेको पनि निष्कर्ष निकालेको छ। अभियानले माओवादी केन्द्रको मात्र नभई सम्पूर्ण राष्ट्रको साझा अभियानको स्वरूप लिएको भन्दै सहभागीप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत पारित गरिएको छ।
जनताको माओवादीप्रतिको भरोसा, अभियानको तयारी, कार्ययोजना र संगठनात्मक सुदृढीकरणका विषयमा बैठकमा छलफल गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
माओवादी केन्द्रले विभिन्न भूगोलका जनतामाझ सशक्त उपस्थिति बनाउँदै राष्ट्रिय तहमा जनआन्दोलनको लहर विस्तार गर्ने उद्देश्यसहित चरणबद्ध अभियानहरू सञ्चालन गर्दै आएको छ।