
‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ को उपाधि पोखराको गुरुकुल माध्यमिक विद्यालयले जितेको छ ।
यही भदौ १४ देखि सुरु भएको प्रतियोगिताको शनिबार साँझ सम्पन्न प्रतिस्पर्धामा नौ स्कुल ब्याण्डलाई पछि पार्दै गुरुकुलले उपाधिसहित नगद एक लाख, ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको हो ।
पोखरा साङ्गीतिक कलाकार सङ्घको आयोजना तथा पोखरा महानगरपालिका र गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा ‘शिक्षासँगै सङ्गीत’ नाराका साथ ‘इन्टर स्कुल ब्याण्ड कम्पिटिसन’ गरिएको थियो।
ग्लोबल कलेजियट मावि द्वितीय हुँदै नगद ५० हजार प्राप्त गरेको छ । यस्तै, फिस्टेल एकेडेमीले तृतीय स्थान हासिल गर्दै नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।
प्रतियोगिताको ‘बेष्ट भोकल’ कालिका माविका अमोन गुरुङ, बेष्ट बास गिटारिस्ट लाभिन्स रेसिडेन्सियल स्कुलका सुशान्त केसी तथा बेष्ट लिड गिटारिस्ट प्रतिभा माविका सायूस बज्राचार्य घोषित भए ।
त्यस्तै, बेष्ट ड्रमर प्रगति बोर्डिङ स्कुल, वेस्ट लिरिक्स लाभिन्स रेसिडेन्सियल स्कुल र बेष्ट म्युजिक कम्पोजर कालिका मावि भए ।
विधागत रूपमा उत्कृष्ट भएकालाई नगद पाँच- पाँच हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा कुल १९ स्कुल ब्याण्ड छनोट भएर प्रतिष्पर्धा गरेका थिए ।