काठमाडौं, वैशाख २४ :

यही शुक्रबार (वैशाख २६) बाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्विटर’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

टिकट बुकिङ खुल्नासाथ दर्शकको उत्साह उल्लेखनीय रूपमा देखिएको छ । दर्शकले टिकट खरिद गर्न थालिसकेका छन् । टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यो चलचित्रप्रति दर्शकको चासो अझै तीव्र बनेको छ ।

नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्यूएफएक्सले मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको हो । त्यस्तै काठमाडौं उपत्यकाका बिग मुभिज, आईएनआई, एफक्युबलगायत हल तथा उपत्यकाबाहिरका प्राय: सिनेमा घरले पनि टिकट बिक्री सुरु गरिसकेका छन् ।

वितरक गोविन्द शाहीका अनुसार यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रका लागि व्यापक शो प्रदान गरिसकेका छन् । यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए । शो सङ्ख्या र दर्शकको चासो हेर्दा चलचित्रले राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

आर्टमान्डू प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्विटर’ मा अभिनेता विपिन कार्की,  मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस र विल्सनविक्रम राई मुख्य भूमिकामा देखिँदै छन् ।

उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनील पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, शारदादेवी सिलवाल र भावना खपाङी मगरलगायतको अभिनय छ ।

सङ्गीतमा सुजन चापागाईं र झुमा लिम्बूको निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’, र ‘काफ्ले’ जस्ता गीतले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्विटर’ को कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई- तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रको छायांकन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।