
‘हिमालयन चितुवा’ को नामले परिचित किक बक्सर अविरल घिमिरेले अब जापानका किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कुसँग ओसाका सहरमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल र जापानबीच हुने ‘के वन क्रस १७५’ प्रतियोगिता यही जेठ ४ गते जापानको ओशाका सहरमा आयोजना हुँदै छ । ‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ । प्रतियोगिताका लागि बक्सर अविरले थाइल्यान्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएर फर्किएका पूर्वअन्तरराष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरे जानकारी दिए ।
किक बक्सिङ खेल क्षेत्रमा एकपछि अर्को ऐतिहासिक कीर्तिमान बनाउन सफल अविरलले हालै ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगिताको उपाधि चुमेका थिए । ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेसनल योयोगी स्टेडियम गत माघको अन्तिम साता आयोजित उक्त प्रतियोगितामा उनले जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी भएका थिए ।
यसैगरी गत कात्तिक ११ मा इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेसनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा ‘हिमचितुवा’ले विश्वप्रसिद्ध फ्रान्सका बक्सर एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ भएका थिए ।
हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्यान्ड, थाइल्यान्ड लगायत देशका बक्सरलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी अविरलले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झन्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका छन् ।
बक्सर अविरल आफ्ना पिता बक्सर देवको साथमा जापानको नागोया सहरमा बस्दै आएका छन् । कराते खेलाडी देव सन् २००४ मा कोरियाको सिउलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् ।