काठमाडौं, जेठ १ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा गठन गरिएको अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको पहिलो बैठक बसेको छ । बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

बैठकले सगरमाथा दिवसलाई सप्ताहव्यापी विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको हो ।

बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू तय गरिएका छन् । कार्यक्रमहरूमा हिमाली पदयात्रा, सांस्कृतिक प्रदर्शनी, सरसफाइ अभियान, अन्तर्क्रिया गोष्ठी, फोटो प्रदर्शनी तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधि समावेश छन् ।

बैठकमा मन्त्री पाण्डेले सगरमाथा केवल भौगोलिक उच्चता नभई नेपाल र सम्पूर्ण विश्वको गौरव भएको उल्लेख गर्दै दिवसलाई सोही भावनासहित मनाउनुपर्ने आवश्यकता औंल्याए । ‘सगरमाथाकै कारण नेपाल विश्वमा चिनिएको छ । एभरेस्ट केवल एक प्रतीक हो,’ उनले भने, ‘नेपालका अन्य हिमालहरूसमेत यसमा समेटिनुपर्छ । आरोही र हिमाल दुवैलाई समेटेर अघि बढ्नुपर्छ ।’

बैठकले कीर्तिमानी सगरमाथा आरोहीहरूलाई सम्मान गर्न पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । साथै, दिवसको अन्तर्राष्ट्रिय प्रचारका लागि विदेशस्थित नेपाली दूतावास, महावाणिज्यदूतावास, पर्यटक प्रवर्द्धक र अन्य कूटनीतिक संयन्त्रमार्फत कार्यक्रम सञ्चालन गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यसैगरी समारोहलाई भव्य रूपमा सम्पन्न गर्न विभिन्न संघ-संस्था, विज्ञ तथा निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा आवश्यक निर्णय गर्न कार्यान्वयन समितिलाई जिम्मेवारी दिइएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस हरेक वर्ष मे २९ तारिखमा मनाउने गरिन्छ । जुन दिन सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

समितिमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्ड, होटेल एसोसिएसन अफ नेपाल, सगरमाथा आरोही संघ, हिमालयन उद्धार संघ, नेपाल ट्रेकिङ एजेन्सी संघ, कोसी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायत प्रतिनिधि छन् । समितिमा १७ सदस्यीय संरचना छ ।