बैंकक, जेठ २ :

आईसीसी महिला टी-ट्वेन्टी विश्वकप एसिया छनोटको सुपर थ्रीमा नेपाली टिम प्रवेश गरेको छ ।

हङकङ र बहराइनबीच शुक्रबार हुने भनिएको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्रीमा पुगेको हो । नेपाल र हङकङको समान ५ अंक भए पनि नेपालको जित धेरै भएका कारण अगाडि बढेको हो । नेट रनरेटमा भने हङकङ नेपालभन्दा अगाडि थियो ।

नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाविहीन थियो । हङकङ भने समान खेलमा एउटा मात्रै जित निकाल्दा ३ खेल नतिजाविहीन छ ।

९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन् ।

समूह ‘ए’ बाट थाइल्यान्ड, ‘बी’ बाट यूएई र ‘सी’ बाट नेपाल सुपर ३ मा प्रवेश गरेका हुन् । यी तीनमध्ये एक टोली बाहिरिँदा दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन् । विश्वकपको ग्लोबल छनोटका लागि अब यी तीन टोलीबीच आपसमा प्रतिस्पर्धा हुनेछ ।