काठमाडौं, जेठ ४ :

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र नेपाल बिमा प्राधिकरणको सहकार्यमा बिमा सचेतना कार्यक्रम सुरु भएको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका १ मा हिजो (शनिबार) सुरु भएको कार्यक्रम आज (आइतबार) पनि चल्नेछ ।

कार्यक्रमको उद्घाटन समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमालाई अझै सर्वसाधारणमा लगेर लोकप्रिय बनाउनु पर्ने बताए । नेपालमा बिमाको पहुँच वृद्धि गर्न आर्थिक पत्रकारहरूको पनि महत्त्वपूर्ण योगदान रहेको बताउँदै उनले आगामी दिनमा पनि पत्रकारिता क्षेत्रले बिमा क्षेत्रको विकासका लागि सहयोग गर्नुपर्ने धारणा राखे ।

‘पत्रकारिता थिएन भने बिमा क्षेत्र यो उचाइमा आउने थिएन । तसर्थ, प्राधिकरणले आगामी दिनमा पनि सहकार्य गरेर यस्ता कार्यक्रम गरिरहने प्रतिबद्ध छ । यो गहन र गम्भीर क्षेत्र पनि हो,’ उनले भने, ‘पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि के-के गर्न सक्छौं, त्यो गर्छौं ।’

यसैगरी पत्रकारले विचारमा भन्दा तथ्यमा केन्द्रित भएर समाचार बनाउनुपर्ने उनको भनाइ छ । ‘तथ्य र विचारको मिश्रणमा समाचार अपूरोजस्तो भएको छ । तथ्यमा खेलेर विचारलाई मध्यनजर गर्दै समाचार प्रकाशन वा बनाउन सकेमा पत्रकारिताको पनि क्षमता त्यहाँबाट झल्किन्छ,’ उनले बताए ।

नाफिज अध्यक्ष मेनुका कार्कीले बिमा पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न लागि यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण रहेको बताइन् । अहिले आर्थिक पत्रकारितामा बिमा बिट अभिन्न अंशको रूपमा स्थापित भइसकेको उनको भनाइ  छ । ‘पहिला पत्रकारितामा बिमा बिट नै थिएन । हालसम्म आउँदा बिमा बिट स्थापित भइसकेको छ । बिमा क्षेत्रको समाचार जति लेखे पनि पुग्दैन । आर्थिक पत्रकारहरूको भविष्यका लागि पनि यो बिट निकै यो सहयोगी बनेको छ,’ उनले भनिन्, ‘यस्ता कार्यक्रमले बिमा पत्रकारको क्षमता अभिवृद्धि गर्ने साथै लेख्ने र खोज्ने दायरा बढेको महसुस गरेको छु ।’

प्राधिकरणका निर्देशक निर्मल अधिकारले बिमाको पहुँच बढाउन सञ्चारमाध्यमको भूमिका अहं भएको बताए । तसर्थ, प्राधिकरणले पत्रकारसँग यस्ता कार्यक्रम नियमित रूपमा गरिरहेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ ।

नाफिजको आयोजनामा बिमा सचेतना

‘बिमा क्षेत्रलाई व्यवस्थित बनाउन हाम्रो तर्फबाट काम पनि गरिरहेका छौं । तर, बिमा क्षेत्रलाई अझै व्यवस्थित बनाउँदै आम नागरिकलाई यसबारे थप बुझाउन आवश्यक छ । यसमा सञ्चारमाध्यमको सहयोगको आवश्यक छ,’ उनले भने, ‘यति हुँदाहुँदै बिमा कम्पनीहरूले बिमा दाबी भुक्तानी समयमा नदिएको गुनासो बिमितहरुबाट आइराख्दा पत्रकारहरूले यसमा विषयमा तथ्य सत्य खोजेर बाहिर ल्याउन आवश्यक छ ।’

यस्तै बिमा क्षेत्रका पूर्वव्यवस्थापक रमेशकुमार भट्टराईले यो कार्यक्रम पत्रकारहरू लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । ‘बिमा प्राधिकरण थोत्रो घरबाट महलमा आएको छ । यसले बिमा क्षेत्रले फड्को मारिसकेको देखिन्छ । तर, बिमा क्षेत्रले बैंकिङ क्षेत्रले जस्तो फड्को मार्न भने सकेको छैन,’ उनले भने, ‘तर, अवसर भने छ । प्राधिकरणमा युवा नेतृत्वकर्ता आएका छन् । यसले पक्कै सकारात्मक सन्देश आउने विश्वासमा बिमा क्षेत्र छ ।’

पछिल्लो समय बिमा कम्पनीहरूले आर्थिक रूपमा कमजोर भएका क्षेत्रमा लगानी गरिरहेको देखिएको पनि उनले बताए । यसमा कम्पनीहरू सचेत भई भावी दिनमा आउने सक्ने जोखिमलाई न्यूनीकरण गर्न लाग्नुपर्ने उनको भनाइ छ ।

यसैगरि जीवन बिमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बिमा विषय बढी प्राविधिक भएकाले पत्रकार पनि सोहीअनुरूप तयार हुनुपर्ने बताए । यो कार्यक्रमबाट पत्रकारले बिमाको प्राविधिक ज्ञान प्राप्त गर्न सक्ने उनको भनाइ छ ।

‘यसै पनि क्षमता अभिवृद्धिमा नेपाल पछाडि छ । बिमाको ज्ञानबाट पनि निकै पछि भएको अवस्थामा यो कार्यक्रमबाट पत्रकारले बिमाको थप विषयहरू सिकेर सर्वसाधारणहरूलाई पनि बुझाउनुहुन्छ भन्ने अपेक्षा लिएको छु,’ उनले बताए । साथै, नेपालमा आधुनिक बिमा प्रडक्ट आउन आवश्यक रहेको पनि उनले बताए ।

नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र वैदवारले बिमासम्बन्धी क्षेत्रीय र अन्तर्राष्ट्रिय समाचार पनि प्रकाशन हुन आवश्यक रहेको बताए । ‘पहिला बिमा क्षेत्रमा कलम चलाएर काम गर्न सकिन्छ कि सकिँदैन भन्ने अवस्था थियो । त्यो चुनौतीका बाबजुद बिमा बिट आर्थिक प्रपत्रकारिताको अभिन्न अंश बन्न पुगेको छ,’ उनले भने, ‘तर पत्रकारले बिमा सम्बन्धी समाचार  विश्वसनीय बनाउन आवश्यक छ । पत्रकारले निडरताका साथ खण्डन गर्न नसक्ने खालका बिमाका समाचार लेख्यो भने कम्पनीलाई सुधार हुन अवसर प्रदान गर्छ ।’ यसैगरी प्राधिकरणले दाबी भुक्तानीसम्बन्धी विस्तृत विवरणसहितको तथ्यांक मासिक रूपमा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।