काठमाडौं, जेठ ४ :

प्रधानमन्त्री केपी ओलीसँग संयुक्त राष्ट्रसंघको हानिनोक्सानी कोष (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) का कार्यकारी निर्देशक इब्राहिम चैख डाइओङले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार भएको भेटमा ओलीले सगरमाथा संवादको पहिलो शृंखलामा सहभागी भएकामा धन्यवाद दिँदै हिमाल र वातावरणको रक्षा हुन नसके मानवीय जीवनमा असुरक्षा हुने भएकाले यस विश्व समुदायको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

कतिपय ठुला धनी मुलुक पेरिस सम्झौताबाट पछि हट्न खोजेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेको सगरमाथा र हिमालहरुको रक्षा नेपालका साथै विश्वका लागि उत्तिकै महत्त्वको सवाल भएको बताए ।

कार्यकारी निर्देशक डाइओङले सगरमाथा संवादजस्तो महत्त्वपूर्ण सम्मेलन आयोजनाका लागि नेपाललाई बधाई दिँदै कोषका तर्फबाट आगामी दिनमा रकम परिचालन गर्दा नेपालजस्ता मुलुकलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल र वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकाललगायत सहभागी थिए ।

कोप-२७ को निर्णयका आधारमा जलवायु परिवर्तनको मार खेपिरहेका विकासोन्मुख मुलुकलाई सहयोग गर्न उक्त कोष खडा गरिएको हो ।

कोषको बोर्डमा पेरिस सम्झौतामा हस्ताक्षरकर्ता मुलुकबाट २६, विकासित मुलुकबाट १२ र विकासोन्मुख मुलुकबाट १४ सदस्य रहनेछन् । अल्पविकसित मुलुकका तर्फबाट नेपालका वन तथा वातावरण मन्त्रालयका सहसचिव ढकाल बोर्डको आमन्त्रित सदस्य छन् ।