काठमाडौं, जेठ ५ :

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले देशभर फैलिएका गुठी सम्बन्धी समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सापकोटाले सिन्धुपाल्चोक जिल्लामै १४६ वटा गुठी दर्ता रहेका र तीमध्ये अधिकांश समस्या अवस्थामा रहेको बताए।

उनले मेलम्ची, बलेफी, त्रिपुरासुन्दरी, बाह्रबिसे, जुगल, सुनकोशीलगायतका स्थानमा गुठीसँग सम्बन्धित समस्या रहेको उल्लेख गरे।

‘गुठीको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ,’ उनले भने, ‘यस समस्याबाट देशभर लाखौं नागरिक प्रभावित छन्।’ देशका ६८ वटा जिल्लामा फरक प्रकृतिका गुठी समस्या रहेको भन्दै उनले गहिरो अध्ययनसहित तत्काल गुठीसम्बन्धी विधेयक ल्याउन सरकारसँग माग गरे।