चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ ।
निर्माणपक्षले सिनेमाको कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको जानकारी दिएको हो । सांकेतिक दृश्यमा एकजना व्यक्ति अस्ताउँदो सूर्यको दृश्य अगाडि उभिएका छन् । सूर्यभन्दा माथि हवाइजहाज उडिरहेको छ । व्यक्तिको छेउमा छायामा ठूलो घरजस्तो देखिन्छ ।
सांकेतिक दृश्यमा नीलो रङ तल्लो भागमा र माथि गोधुली साँझ छ । सांकेतिक दृश्यमा देखिएको व्यक्ति को हो चिनिँदैन । यदि, मुख्य पात्र हुन् भने विजय बराल हुन् ।
दुब्लो-पातलो शरीर, अस्ताउँदो सूर्य र ठूलो हवाइजहाजले उडेको दृश्यले रोजगारीका लागि विदेश जान लागेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । किनकी नेपालमा ठूलो हवाइजहाजको दृश्य वैदेशिक रोजगारीको बिम्व हो ।
यो सिनेमा आमाको खोसिएको खुसी फर्काउन सम्पत्ति कमाउन घरबाट सहर पस्ने छोरोको कथा हो । आमाको खुसी फर्काउन उसले के-के गर्छ, त्यही यात्राको उतारचढाव फर्ष्ट लुकमा देखाउने प्रयास गरिएको छ ।
‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनमा छ । सिनेमालाई निर्देशक हिमाल न्यौपानेले गरेका छन् । यो उनको डेब्यु निर्देशन हो ।
काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेमा छायांकन गरिएको ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका कथा र उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा बोल्नेछ ।
चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनीष राउत छन् । बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनालीलगायतको मुख्य भूमिका छ ।
यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय छ ।
पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सीआर बस्नेत, फिलिप डीसी, नारायण तिमिसिना र चूडामणि शिवाकोटी रहेका छन् ।
चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशक छन् ।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त शिवाकोटीको संगीत रहने चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ । चलचित्रका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् ।
सिनेमाको निर्माण पक्षले केही दिनपछि फस्टलुक पोस्टर सार्वजनिक गर्ने बताएको छ ।
अल टाइम ब्लक बस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो । यस्तै २०८१ मा नेपाली चलचित्र उद्योगलाई ब्लकबस्टर सिनेमा दिने विजय र केकी ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को मुख्य भूमिकामा सँगै देखिँदै छन् ।