यूडब्ल्यूडब्ल्यू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्ने भएको छ ।
मे २१ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । खेलाडीमा सुरेश चुनारा, सुजित यादव र रामकिशोर यादव छन् ।
तीनै खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् ।
प्रशिक्षकमा मुम्ताज अली इद्रिसी छन् । प्रतियोगिताका दौरान हुने दक्षिण एसियाली कुस्ती महासंघको बैठकमा सहभागी हुन राखेपका सदस्यसमेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुशारी पनि टोलीसँगै भारत जाने छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राखेपका सदस्य-सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।