
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा स्थिरता र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था आवश्यक रहेको बताएका छन्।
पोखरामा शनिबार भएको ‘जनतासँग माओवादी’ अभियानको कार्यक्रममा उनले अहिलेको शासन प्रणालीले स्थायित्व दिन नसक्ने बताए। ‘गणतन्त्र त आयो, तर शासन प्रणाली फरक छ,’ उनले भने, ‘अब प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका बारेमा जनतालाई बुझाउनुपर्ने समय आएको छ।’
दाहालले संविधान बनाउँदा पनि यस्तो प्रणालीको पक्षमा आफूहरू रहेको तर सहमतिको लागि त्यतिबेला अडान छोडेको बताए।
उनले आगामी निर्वाचनमा माओवादी पहिलो दल बन्ने आधार तयार भएको दाबी गर्दै समाजवादी परिवर्तनका लागि जनजागरण अभियान सुरु गरिएको जानकारी दिए।
कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक न्याय र सुशासनको सन्देश जनतामा लैजान कार्यकर्तालाई आग्रह गरे। महासचिव देव गुरुङले मध्यपहाडी लोकमार्गको बाँकी काम चाँडै सक्न सरकारलाई दबाब दिने बताए।