बागमती, भदौ २० :

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट एक प्रतिशतमा झरेको छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधार लगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०- ८१ मा पाँच दशमलव ६७ प्रतिशतले विद्युत् चुहावट घटेको हो ।

हेटौँडा क्षेत्रमा गत आर्थिक वर्ष २०७९- ८० मा छ दशमलव ६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०८०- ८१ मा विद्युत् चुहावट एक प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख ई शिवराम यादवले जानकारी दिनुभयो ।  

विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा दुई लाख २९ हजार तीन सय ७९ महसुल सङ्कलन भएको कार्यालयले जनाएको छ । 

यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने दुई हजार एक सय ९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा दुई हजार एक सय १७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट पाँच करोड ६५ लाख ८० हजार चार सय ४३ बक्यौता असुली भएको प्रमुख यादवले बताउनुभयो । 

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उहाँको भनाइ छ । 

आर्थिक वर्ष २०८०- ८१ मा कार्यालयले दुई अर्ब ४२ करोड ४३ लाख ३१ हजार तीन सय २५ विद्युत महसुल सङ्कलन गरेको प्रमुख यादवले जानकारी दिनुभयो ।