
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष ०८२/८२ को बजेट अपेक्षाकृत भएको बताएका छन् ।
निर्माण क्षेत्रका लागि बजेट सकरात्मक रहेको उनको भनाइ छ । यद्यपि, त्यसको कार्यान्वयनमा सफल हुनुपर्ने बताउँदै आगामी आवमा कम्तीमा ९० प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने उनले बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले निर्माण क्षेत्रका लागि केही राहतका कुराहरु पनि आएको उल्लेख गरे ।
२ वर्षभित्र राष्ट्रिय गौरवका योजना सम्पन्न गर्ने लक्ष्य लिएको कुरा निकै राम्रो भएको उनको भनाइ छ । अहिले योजना आयोग र सरकारले सहकार्य गरेको अनुभूति भएको उनले बताए । निर्माण क्षेत्रका सुझाबहरुलाई समेटेको भएर लक्ष्य प्राप्त हुने र आमजनताले लाभ पाउने अवस्था रहने उनको भनाइ छ ।
यद्यपि रुग्ण आयोजनालाई बजेटले सम्बोधन गर्न नसकेको उनको भनाइ छ । रुग्ण आयोजनाहरुलाई नीति तथा कार्यक्रममा सम्बोधन गरेपनि बजेटमा त्यो आउन नसकेको उनको भनाइ छ । रुग्ण आयोजना सञ्चालनमा ल्याउन कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
३ करोडभन्दा कमका आयोजना बनाउन नपाउने भनेको अवस्थामा यसले विकासमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । सार्वजनिक खरिद ऐनमा भएको संसोधनले आयोजनाहरु सम्पन्न गर्न नसकिएकोले यसबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।