काठमाडौं, जेठ १८ :

राजसंस्था समर्थकको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले आज (आइतबार) पनि गणतन्त्रविरुद्ध राजधानीमा विरोध प्रदर्शन गरिरहेका छन् ।

राजावादीहरुको प्रदर्शनका कारण उपत्यकाको सडकमा आउजाउ गर्ने सवारीसाधनले ट्राफिक डाइभर्सन प्रयोग गरिरहनुपरेको छ । उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधनको जाम भएको छ ।

गत जेठ १५ गते बिहीबारबाट संयुक्त जनआन्दोलन परिचालन समितिले थालेको विरोध प्रदर्शन आज चौथो दिनमा चलिरहेको छ ।

‘अवस्था बदल्न, व्यवस्था बदलौं’ भन्ने मूल नारासहित गणतन्त्र स्थापना दिवसकै अवसरमा राजावादी शक्तिहरुले विरोध प्रदर्शन गरेका थिए ।

राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापनाका साथै संघीयता खारेजीको मागसहित १५ गते शान्ति वाटिकामा विरोध प्रदर्शन गरेका राजावादीले १६ गते माइतीघर, १७ गते बालुवाटार क्षेत्रमा प्रदर्शन गरेका थिए । आज नक्साल नारायणचौर क्षेत्रमा र माइतीघर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन भइरहेको राप्रपाले जनाएको छ । यस आन्दोलनमा राप्रपा, राप्रपा नेपालका शीर्ष नेताको उपस्थिति छ ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आफूहरूको लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

समिति संयोजक नवराज सुवेदीले शनिबार बेलुका भिडियो सन्देश जारी गर्दै आन्दोलनप्रति जनसमर्थन बढ्दै गएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म आन्दोलन जारी राख्ने बताएका हुन् ।

उनले आन्दोलनमा काठमाडौंवासीले साथ दिएको भन्दै आफूहरु उत्साहित भएको बताएका छन् ।