काठमाडौं, जेठ १८ :

राजसंस्था पुनःस्थापनाको माग गर्दै चौथो दिनमा जारी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापालाई आज प्रहरीले पक्राउ गरेको छ ।

नारायणचौर क्षेत्रमा जारी प्रदर्शनमा नेतृत्व गरिरहेका थापालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिएर जबर्जस्ती भ्यानमा कोचेको तस्बिरमा प्रस्टसँग देखिन्छ ।

संयुक्त जनआन्दोलन परिचालन समितिको आह्वानमा जेठ १५ गतेदेखि सुरु भएको विरोध प्रदर्शन आज चौथो दिन पनि काठमाडौंको नक्साल नारायणचौर र माइतीघर क्षेत्रमा जारी रह्यो।

राजसंस्था समर्थक राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरूको सक्रिय सहभागिता रहेको आन्दोलनका कारण उपत्यकाको यातायातसमेत प्रभावित बनेको छ। प्रदर्शनमा थुप्रै समर्थकहरूले राजसंस्थाको पुनःस्थापनाको माग गर्दै नाराबाजी गरेका थिए ।