काठमाडौं, जेठ १८ :

राजतन्त्र पुनःस्थापनाको माग गर्दै भइरहेको आन्दोलनको सिलसिलामा पक्राउ परेका राप्रपा अध्यक्ष कमल थापालाई भेट्न गएका सांसद् दीपकबहादुर सिंहलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा प्रतिनिधिसभाका सांसद् सिंह पार्टी अध्यक्ष थापाको अवस्था बुझ्न काठमाडौं प्रहरी परिसर, भद्रकाली पुगेका थिए। तर, त्यहाँ पुगेकै केही बेरमा उनलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार दिउँसो नारायणचौरमा राजसंस्थाको समर्थनमा चौथो दिन भइरहेको प्रदर्शनका क्रममा राप्रपा अध्यक्ष कमल थापा सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो।अध्यक्ष थापाको स्वास्थ्य अवस्था र अवस्थिति बुझ्न सांसद् सिंह काठमाडौं प्रहरी परिसर पुगेका थिए। सोही क्रममा उनी प्रहरी नियन्त्रणमा परे।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपीलराज बोहोराले सिंहलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। तर, उनको पक्राउको ठोस कारणबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

प्रारम्भिक रूपमा अनुमान सिंहले प्रहरीले तोकेको प्रक्रिया वा अनुमतिको पालना नगरी परिसरमा प्रवेश गर्न खोजेका थिए, वा भिड जम्मा हुने अवस्था देखिँदा सुरक्षाको कारण देखाएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हुनसक्छ।

घटनापछि राप्रपा समर्थक तथा राजसंस्था पक्षधरहरूले प्रहरीको कदमप्रति असन्तोष व्यक्त गरेका छन्। उनीहरूले सांसद् भएको व्यक्तिलाई यसरी नियन्त्रणमा लिनु संसदप्रति नै अपमान भएको बताएका छन्। नेताहरुको गिरफ्तारीले कार्यकर्ताहरु थप आक्रोशित भएका छन्। उनीहरु यो व्यवस्था नै परिवर्तन गर्ने भनेर आन्दोलनमा लागेका छन् ।