काठमाडौं, जेठ १९ :

भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। माओवादीले गृहमन्त्रीले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायम राख्ने निर्णय गरेको हो।

सोमबार बसेको संसदीय दलको बैठकपछि उपमहासचिव वर्षमान पुनले विवादित कर्मचारीलाई अध्यागमन विभागमा पठाउने र अख्तियारले छापा मार्न खोजेपछि फिर्ता बोलाउनेजस्ता अस्वाभाविक गतिविधिहरूले सेटिङ भएको स्पष्ट देखिएको बताए।

‘छानबिन त अवश्य हुन्छ, तर निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले स्वयं पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ,’ पुनले भने, ‘गृहमन्त्रीलाई दोषी ठहर गरेका भने होइनौं, तर छानबिनअघि नै राजीनामा दिनु आवश्यक छ भन्ने निर्णय दलको हो।’ 

माओवादी संसदीय दलको बैठक भोलि पुनः बस्ने छ।