काठमाडौं, जेठ २० :

 सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण तथा राहत, उद्धार कार्यका लागि नेपाली सेना बाहेक  १७ हजार ७ सय सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल प्रहरीबाट १० हजार ८५ र सशस्त्र प्रहरी बलबाट  ७ हजार ६ सय १५ जनशक्ति परिचालन गरिनेछ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले सीमित स्रोत साधनका कारण चाहेर पनि सबै क्षेत्रमा तत्काल उद्धार र राहत कार्य गर्न सकिने अवस्था नरहने बताए। सुरक्षाकर्मीलाई आवश्यक प्रविधि, उपकरण र जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको पूर्ति आवश्यक रहेको बताए।

यसपालिको मनसुनमा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा प्रतिकार्य कमान्ड पोस्ट स्थापना गरिने छ। विगत १० वर्षमा८ हजार ४ सय १८ वटा विपद् घटनामा २ हजार ३ सय १७  जनाको मृत्यु, ४ सय १९  बेपत्ता र २ हजार ६ सय ४९ घाइते भएका छन्।

गत वर्ष मात्रै २ हजार १ सय ३८ विपद् घटनामा ६ सय ४९  जनाको मृत्यु र ६६ बेपत्ता भएका थिए। असोज १०देखि १३ मा २ सय ५० जनाको ज्यान गएको र ४५ अर्ब बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।