काठमाडौं, जेठ २० :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस-एमाले मिलेर सरकार बनाउँदा गरिएको संविधान संशोधनको मुख्य वाचा बिर्सिएको बताएका छन्।

बाँके–२ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सातबुँदे सहमतिअनुसार संविधान संशोधन गर्ने प्रतिबद्धता गरिएको स्मरण गराए। तर त्यो कार्यान्वयनमा नआएको स्वीकार गर्दै उनले भने, ‘हामी सरकार चलाउन मस्त भयौँ, तर संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ। अब कांग्रेस र एमालेले अलमलबाट बाहिर निस्केर वाचा अनुसार कदम चाल्नुपर्छ।’

थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नै उपयुक्त भएको बताउँदै समस्याको जरो नेतृत्वमा रहेको जिकिर गरे। ‘व्यवस्था ठीक छ, तर नेतृत्व कमजोर छ। सुधार संविधान संशोधनमार्फत गर्न सकिन्छ,’ उनले भने।

संविधानलाई ‘नयाँ हाइवे’ को संज्ञा दिँदै थापाले त्यसको सुरुवात कांग्रेसले गरेको उल्लेख गरे। ‘हामीले बनाएको हाइवे ठीक छ, तर गाडी र चालकमा समस्या छ,’उनले भने, ‘गाडी मर्मत गर्नुपर्छ, फेर्नुपर्ने होइन। चालक परिवर्तनभन्दा पनि सुधार जरुरी छ। नयाँ बाटो खोज्न थालियो भने फेरि १० वर्ष खेर जान सक्छ।’ उनले कांग्रेसले संविधानको रक्षा, सुधार र सही कार्यान्वयनको नेतृत्व लिनुपर्ने स्पष्ट पारे।