काठमाडौं, जेठ २० :

राइड सेयरिङसम्बन्धी नियमावलीको कार्यान्वयन हाललाई स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्र पठाएको छ।

मंगलबार पठाइएको पत्रमा सार्वजनिक यातायात बन्दका कारण जनजीवन प्रभावित भएको भन्दै राइड सेयरिङसम्बन्धी प्रावधान तत्काल लागू नगर्न अनुरोध गरिएको छ।

पत्रमा भनिएको छ, ‘जनजीवनलाई सामान्य बनाउन सार्वजनिक यातायात बन्द फिर्ता गर्न तथा वातावरण सहज बनाउन मन्त्रीस्तरीय निर्णयअनुसार राइड सेयरिङको कार्यान्वयन हाललाई स्थगन गर्न अनुरोध गरिएको छ।’ पत्र प्राप्त भएसँगै गण्डकी प्रदेश सरकारले धारणा बनाउन छलफल थालेको छ।

यसैबीच, संघीय सरकारसँग भएको सहमतीलाई गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे भोलिदेखि आन्दोलन चर्काउने यातायात व्यवसायीले चेतावनी दिएका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका अध्यक्ष विजय बहादुर स्वारले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।