
रौतहटको चन्द्रपुर–१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आएको मधेश प्रदेश–०३–००१ ख ८६०० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा सर्लाही रामनगर–१ की ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। यस्तै, रामनगर–१ की १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती–५ का १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरूको चन्द्रपुर अस्पताल प्रालिमा उपचार भइरहेको र दुवै खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा–१३ का ग्यालसेन थोकर र विद्युतीय गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको डीएसपी राजकुमार राईले जानकारी दिए। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।