
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले टस हारेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवाडर्सले टस जितेर पहिला ब्याटिङ रोजेका छन् । यससँगै नेपालले पहिला बलिङ गर्नेछ ।
नेपालले सोमबार स्कटल्यान्डसँग खेलेको टोलीमा एक खेलाडी परिवर्तन भएको छ । यसमा रिजन ढकालको स्थान ललितनारायण राजवंशी छन् । लिग २ को आफ्नो चौथो चरणअन्तरगत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डलाई एक विकेटले पराजित गर्दै विजयी भएको थियो ।
यता यस शृङ्खलाको आफ्नो उद्घाटन खेलमा नेदरल्यान्ड्स पनि सुखद सुरुआतको लक्ष्यमा छ । नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले तीन खेलमा जित हासिल गर्दा नेपालले दुई खेलमा जित हासिल गरेको छ ।
विश्वकप लिग-२ मा २० खेल खेलेको नेदरल्यान्ड्स २६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । त्यस्तै १३ खेल खेलेको नेपाल आठ अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ ।
सन् २०२७ सम्म चल्ने यस लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउनेछ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्नेछ ।
नेपालको प्लेइङ-११ मा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, आसिफ सेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ सेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी छन् ।