काठमाडौं, जेठ २१ :

काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुख बनेका नगर प्रहरी उपरीक्षक (डीएसपी) विष्णुप्रसाद जोशीले जिम्मेवारी सम्हालेको भोलिपल्टै सिनियर अफिसरहरूको बैठक बोलाएका छन्।

बागदरबारस्थित महानगर प्रहरी कार्यालयमा बसेको बैठकमा महानगरको शहरी सुव्यवस्थापन प्रभावकारी बनाउन ऐनअनुसारका कार्यहरू अघि बढाउने निर्णय गरिएको छ। बैठकमा महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा उल्लेखित जिम्मेवारीअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे निलम्बनमा परेपछि जोशीलाई प्रमुखको जिम्मेवारी दिइएको हो। पाण्डेमाथि अनुशासनसम्बन्धी विषयमा छानबिन चलिरहेको छ। नयाँ नेतृत्व आएसँगै नगर प्रहरी बलमा अनुशासन, समन्वय र कामको प्रभावकारितातर्फ ध्यान दिने तयारी गरिएको छ।