
प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ। पछिल्ला केही दिनदेखि सूचना टाँस गर्दै स्थगित हुँदै आएको बैठक आज झण्डै साढे चार घन्टा ढिला गरी मात्र सुरु भयो। बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाए।
सभामुख देवराज घिमिरेले दलीय सहमतिमा बोल्न सहयोग गर्न आग्रह गरे। तर, प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएको भन्दै राजीनामा माग गरे। उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन नचल्ने अडान दोहोर्याए।
सभामुखले पटक–पटक सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दै चालु अधिवेशनबाट आवश्यक कानुन बनाउनुपर्ने बताए। गृहमन्त्रीले समसामयिक प्रश्नको जवाफ दिन समय मागेको सभामुखले जानकारी गराए।
सत्तापक्ष र प्रतिपक्षबीच केही समय आरोप–प्रत्यारोप चलेपछि आजका सम्पूर्ण कार्यसूची हटाइएको र बैठक भोलि (शुक्रबार) दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको सभामुखले जानकारी दिए।