काठमाडाैं, जेठ २२ :

नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको भ्रष्टाचार मुद्दा ‘राजनीतिक प्रतिशोध र षड्यन्त्र’ भएको दाबी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालमाथि मुद्दा लगाएपछि बसेको सचिवालय बैठकले राजीतिक प्रतिशोध र षड्यन्त्र भएको भन्दै राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार आयोगले पतञ्जलि समूहसँग जोडिएको जग्गा हिनामिनासम्बन्धी प्रकरणमा नेपालसहितका केही व्यक्तिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो।

‘अध्यक्षमाथि मुद्दा लगाउनु राजनीतिक प्रतिशोध लिँदै गरिएको षड्यन्त्रमूलक प्रहार भएको निष्कर्षमा बैठक पुगेको छ,’ उपाध्यक्ष प्रकाश ज्वालाले भने, ‘हामी यसविरुद्ध राजनीतिक रुपमा प्रतिवाद गर्छौं।’

बैठकले अब कानुनी लडाइँमा जानुअघि आवश्यक प्रमाण र तथ्य संकलन गर्ने निर्णय पनि गरेको छ। नेकपा एसले मन्त्रिपरिषद्का नीतिगत निर्णयलाई अख्तियारले अहिलेसम्म नजाँचेको उल्लेख गर्दै नेपालमाथि दायर मुद्दामा सरकारले प्रभाव पारेको आरोप लगाएको छ।

‘सरकारको छाया अख्तियारमा परेको देखिन्छ, त्यसैले यसमा राजनीतिक प्रतिशोध र षड्यन्त्र देखिन्छ,’ उपाध्यक्ष ज्वालाको भनाइ छ।