काठमाडौं, जेठ २३ :

प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको २३औं वार्षिक प्रतिवेदन पारित भएको छ ।

सभापति ऋषिकेश पोखरेलले समितिको आज (शुक्रबार) को बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धि मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए ।

बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही निर्माता कम्पनीले नक्कली कागजात पेस गरी बोलपत्रमा समावेश भएको भनि आएका गुनासाका विषयमा प्रस्ट नभई सम्झौता अघि नबढाउन निर्देशन दिएको छ ।

यस्तै बेरुजु फर्स्योटका सम्बन्धमा तीन तहकै जनप्रतिनिधिको सहभागितामा असार ९ र १० गते काठमाडौंमा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । गोष्ठीमा सबै प्रदेशका सार्वजनिक लेखा समिति सभापति र सचिव, विज्ञ, महालेखा परीक्षकको कार्यालय, नगरपालिका र गाउँपालिका महासंघका प्रतिनिधि सहभागी हुनेछन् ।

सभापति पोखरलेले बेरुजु फर्स्योटमा स्थानीय तहदेखि संघसम्मको समग्र अवस्थाबारे जानकारी लिँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा रायसुझाव लिने उद्देश्यले गोष्ठी गर्न लागिएको जानकारी दिए ।

बैठकले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन समितिले थप अध्ययनका लागि स्थलगत अवलोकन गर्ने माग गरेकामा स्वीकृत प्रदान गरेको छ ।

यस वर्ष मौसम केही जटिल हुने प्रक्षेपण गरिएकाले पूर्वतयारी प्रतिकार्यलाई चुस्त र व्यवस्थित तुल्याउन सरकारलाई सुझाव दिँदै समितिले आगामी धानबालीका लागि किसानलाई रासायनिक मलको अभाव हुन नदिन उचित व्यवस्थानमा लाग्न निर्देश गरेको छ ।