
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि प्रतिशोध साँधेर भ्रष्टाचार मुद्दा दायर गरेको निष्कर्ष निकालेका छन् ।
बानेश्वरस्थित संसद् भवनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा शुक्रबार बसेको बैठकले यसबारे निष्कर्ष निकालेको हो ।
बैठकमा माओवादीबाट दाहाल, वर्षमान पुन, रास्वपाका डीपी अर्याल, स्वर्णिम वाग्ले, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, हरि ढकाल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे, शेरबहादुर कुँवर, आजपाका प्रभु साहलगायतको सहभागिता थियो ।
नेपालविरुद्ध पतञ्जलिलाई गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा दिने र त्यही जग्गा तत्कालै बेचबिखनको अनुमति दिने निर्णय गराएर आर्थिक अपचलन गरेको भन्दै अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले मुद्दा दायर गरेसँगै नेपाल सांसद् पदबाट निलम्बनसमेत भइसकेका छन् ।