बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

संसद्‌को गतिरोध हटाउने सभामुखको प्रयास, आफ्नै अडानमा दलहरु

यही जेठ १५ गते संसद्‌को संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन ।
· आइतबार, २५ जेठ, २०८२ मा प्रकाशित
संसद्‌को गतिरोध हटाउने सभामुखको प्रयास, आफ्नै अडानमा दलहरु
काठमाडौं, जेठ २५ :

सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् ।

सभामुखले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आइतबार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरे ।

सभामुखले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक-पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।

प्रमुख विपक्षी माओवादी प्रमुख सचेतक पाण्डेले आइतबारै पार्टी अध्यक्ष पुष्पकमल दाहालले बानेश्वरमा विपक्षी दलको बैठक बोलाएकाले त्यसपछि आफूहरूको धारणा दिने जानकारी दिए ।

सत्तारुढ एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले विपक्षी दलको मागअनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्ने मागमा सहमत हुन नसकिने अडान दोहोर्‍याएका छन् ।

यही जेठ १५ गते संसद्‌को संयुक्त बैठकमा बजेट भाषण भएयता प्रतिनिधि सभा बैठक बस्न सकेको छैन । संसद सुरु हुन नसकेपछि बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । आज प्रतिनिधिसभा बैठक १ बजेका लागि तय गरिएको छ । यद्यपि बैठक बस्ने सम्भावना भने देखिँदैन ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार