काठमाडौं, जेठ २५ :

मधेस प्रदेशका अदित्य यादव र कोसी प्रदेशकी प्रकृति काफ्लेले यू-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । अदित्य छात्र तथा प्रकृति छात्रामा पहिलो भएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोसी प्रदेशका अंकित ताजपुरीयाले कास्य जिते ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । कर्णालीकी गोमा शाहीले रजत तथा सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कास्य हात पारे ।

छात्र ४ सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड सकाए । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोसीका प्रियान्शु शाह तेस्रो भए । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशीकी सिल्भी नागा तेस्रो बने ।

छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोसीका नीतेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोसीकी प्रकृति काफ्ले तेस्रो भए ।

जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा कर्णालीले २ स्वर्ण जितेको छ । कोसी, गण्डकी, मधेस र लुम्बिनीले समान १-१ स्वर्ण जितेका छन् ।