
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कनकाई नदीमा निर्माणाधीन तटबन्ध कार्यमा कुनै पनि ढिलाइ नगर्न निर्देशन दिएका छन् । उनले तटबन्ध पुनर्निर्माणस्थलको निरीक्षण गर्दै समयमै काम सम्पन्न नभए कम्तीमा १०५ घरधुरी पूर्ण रूपमा विस्थापित हुने गम्भीर जोखिम रहेको औंल्याए ।
गत वर्ष असोज १०, ११ र १२ गतेको अविरल वर्षाले कनकाई नदीमा आएको बाढीका कारण हुलाकी राजमार्गनजिक करिब ७ सय मिटर क्षेत्रको तटबन्धमा गम्भीर क्षति पुगेको थियो । सो क्षेत्रको पुनर्निर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा देखिएको छ ।
‘ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट- जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनर्निर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ,’ मन्त्री खड्काले भने । उनले तटबन्ध निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।
विपद् पुनर्निर्माण योजनाअन्तर्गत अघि बढाइएको तटबन्ध निर्माण कार्यको स्थलगत प्रगति विवरण दिँदै ‘जनताको तटबन्ध कार्यक्रम गैंडे झापा’ का प्रमुख इन्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए ।
विद्युत् सेवा चुस्त बनाउनूस् : ऊर्जामन्त्री खड्का
यात्रा क्रमकै क्रममा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण बिर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिए ।
‘जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो,’ मन्त्री खड्काले भने, ‘लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुने गरी प्रणाली विकास गर्न आवश्यक छ ।’
उनले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता असुलीमा कडाइ गर्न, नियमित बिल तिर्ने उपभोक्तालाई प्रोत्साहन गर्न तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने व्यवस्था गर्न सकिने संकेत पनि गरे ।
सिफारिसविहीन सरुवामा पुनः जोड
सेवा प्रवाहमा पारदर्शिता र कार्यकुशलता कायम राख्न मन्त्री खड्काले सरुवा र बढुवामा सिफारिस र भनसुनको प्रवृत्तिमा पूर्ण रोक लगाउने नीतिगत धारणा दोहोर्याए । ‘सेवा प्रवाहमा समस्या देखिए सिधै मन्त्रालय आउनुहोस्, म स्वयं भेट्छु,’ भन्ने मन्त्री खड्काको भनाइले नीति कार्यान्वयनप्रति सरकारको गम्भीरता प्रस्ट पारेको छ ।