काठमाडाैं, जेठ २५ :

अमेरिकाबाट निष्कासनमा परेका ३७ जना नेपाली नागरिक आइतबार साँझ चार्टर उडानमार्फत काठमाडौं आइपुगेका छन्। अमेरिकी अध्यागमन नियम उल्लंघन गरेको आरोपमा दोषी ठहरिएका ३२ पुरुष र ५ महिला नेपालीलाई ओम्नी एयर इन्टरनेसनलको कलसाइन एन४८६एएक्स भएको विमानमार्फत फिर्ता पठाइएको हो।

उक्त विमान भारत हुँदै बंगलादेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। चार्टर उडानमा अमेरिकी अधिकारीहरू समेत रहेका थिए। उनीहरूले नेपाली नागरिकसँगै भारत र बंगलादेशका निष्कासित नागरिकहरूलाई समेत सम्बन्धित देशको जिम्मा लगाएका थिए।

अमेरिकाले हाल गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई निष्कासन गर्ने नीति कडाइका साथ लागू गर्दै आएको छ। डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई सन् २०२५ जनवरी २० मा पदभार ग्रहण गरेपछि उक्त नीति थप कठोर बनाइएको हो।

ट्रम्प प्रशासनको कडाइपछिका महिनाहरूमा मात्रै १४० जना नेपाली अमेरिकाबाट निष्कासित भइसकेका छन्। तीमध्ये एकपटक चार्टर उडानमार्फत र बाँकीलाई नियमित उडानबाट स्वदेश फिर्ता पठाइएको सरकारी अधिकारीहरूले जनाएका छन्।